काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी दोहोर्याएका हुन् ।
सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै संयोजक प्रचण्डले सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गरे ।
उनले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताए । उनले फागुन २१ मै निर्वाचन हुने भन्दै कसैलाई पनि शंका नगर्न आग्रह पनि गरे ।
उहाँले निर्वाचन देशभर एकै चरणमा गर्न सरकारलाई आग्रह पनि गरे । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उनको भनाइ छ ।



