नेपाल न्युज प्वाइन्ट डटकम
जो-जो मिल्नु छ, मिल, देश अब अन्तिम सुनामीको तयारीमा छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनविद्रोहले उखेलेर फालेको पुरानो संसद् षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै सभापति लामिछानेले प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रमप्रति लक्षित गर्दै आगामी निर्वाचनका लागि जो–जो मिले पनि मिल्न खुला चुनौती दिएका छन् ।

उनले लेखेका छन्, ‘मेरो खुला आग्रह छ- अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ । हामी निर्वाचनमार्फत आएको मत परिणाम स्वीकार्छौं, तर जनविद्रोहले फ्याँकेको पुरानो संसद् षड्यन्त्रपूर्ण ढंगले फर्काउने प्रयास स्वीकार्दैनौं ।’

लामिछानेले देश कुनै अमुक नेताले नभइ जनताले जोगाएको उल्लेख गर्दै जनताकै शक्तिको बलमा मतपत्रमार्फत सुशासन, विकास, कूटनीति र अर्थ–राजनीतिको नयाँ युग सुरु गर्न चाहेको बताएका छन् ।

‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अब अन्तिम सुनामीको तयारीमा छ,’ उनले लेखेका छन् ।

सभापति लामिछानेले फागुन २१ लाई नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै त्यसपछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने बताएका छन् ।

‘फागुन २१ कुनै सामान्य मिति होइन, यो नेपाली इतिहासको माइलस्टोन हुनेछ । फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन,’ उनको भनाइ छ ।

उनले लामो समयदेखि देश लुटेर बनेका आपराधिक गिरोहबाट नेपाललाई स्थायी रूपमा मुक्त गरिने दाबी गर्दै केही बिचौलियाको मुठ्ठीमा कैद रहेको देशको भविष्य लेख्ने जिम्मा जनताकै हातमा रहेको उल्लेख गरेका छन् ।

सभापति लामिछानेले हालै स्वास्थ्य उपचारपछि पुनः सार्वजनिक जीवनमा फर्किएको जानकारी दिँदै अब देशमा जे हुनेछ, त्यो सामान्य घटना नभई इतिहास हुने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update