नेपाल न्युज प्वाइन्ट डटकम
प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइ सकियो

काठमाडौं : निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तीव्रता दिएको छ ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाइको कामलाई तीव्रता दिएको जानकारी दिए ।

उनकाअनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाइ सुरु भएको छ । हालसम्म प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाइको काम सकिएको उनले जानकारी दिए ।

प्रवक्ता भट्टराईले समानुपातिकतर्फ आवश्यक दुई करोड ८ लाख ३० हजार मतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको जानकारी दिए । उनकाअनुसार गएको हप्तादेखि प्रत्यक्ष तर्फका मतपत्र छपाइ सुरु गरिएको हो ।

प्रत्यक्षतर्फ अब करिब दुई करोड मतपत्रमध्ये १ करोड ७० लाख छपाइ गर्न बाँकी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार दैनिक १२ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ । मतदाता नामावली छपाइको काम पनि आगामी हप्तामा सकिने उनको भनाइ छ ।

उनले निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले निर्धारित कार्ययोजनाअनुसार कामलाई तीव्र बनाउँदै लगेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update