काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको घटनालाई लिएर आफूले नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका छन् । केही पक्षले गलत प्रचार फैलाएको भन्दै ओलीले संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको र आफूले कहिल्यै त्यस्तो आदेश नदिएको दाबी गरे ।
एक वक्तव्य जारी गर्दै ओलीले घटनापछि तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै ज्यान गुमाएका १९ जना बालबालिकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन् । “त्यो पीडा आजसम्म पनि मसँगै छ,” उनको भनाइ छ ।
सरकारले सुरक्षाको दृष्टिले माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरे पनि शान्तिपूर्ण सभाको अनुमति मागिएपछि प्रशासनले सहजै अनुमति दिएको ओलीले उल्लेख गरेका छन् । माइतीघरमा बिहान सुरु भएको जेनजी युवाहरूको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको र त्यहाँ न गोली चलेको न लाठीचार्ज भएको उनले स्पष्ट पारे ।
तर दिउँसो करिब १२ बजेतिर घुसपैठकारी तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ उक्साएको दाबी ओलीको छ । आयोजकहरूले घुसपैठ भएको जानकारी दिँदै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे पनि केही समूहले योजनाबद्ध रूपमा बालबालिका र स्कुल पोसाकमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजेको उनको आरोप छ ।
संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक सामग्री प्रयोग भएपछि स्थिति ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको आक्रमण’मा परिणत भएको ओलीको भनाइ छ । संसद् भवनभित्र सुरक्षा निकायमाथि प्रत्यक्ष आक्रमण भएपछि कानुनअनुसार बल प्रयोग गर्नुपरेको उनले उल्लेख गरे ।
“यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए वा संसद् भवन जलेको भए अवस्था अझ भयावह हुने थियो,” ओलीले प्रश्न गरेका छन् । अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने उद्देश्यले नै ती समूह अघि बढेको उनको दाबी छ ।
ओलीले भदौ २४ गते भएको विध्वंशतर्फ पनि ध्यानाकर्षण गराउँदै सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायत संरचनामा तोडफोड र आगजनी आफ्नो राजीनामापछि भएको उल्लेख गरेका छन् । संसारका सबै देशमा संवैधानिक निकायको सुरक्षा कानुनअनुसार हतियारसहित गरिने भन्दै सुरक्षाकर्मीले सरकारको आदेश होइन, कानुनको शपथ लिएको उनको भनाइ छ ।
उनले माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा कुनै बल प्रयोग नभएको र बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म गोली नचलेको दोहोर्याउँदै बालबालिकालाई कानुनले कडा बल प्रयोग गर्नुपर्ने स्थानतर्फ कसले, किन र कसरी लग्यो भन्ने प्रश्न उठाए ।
सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न आग्रह गर्दै ओलीले आफू कुनै पनि मञ्चमा बसेर घटनाबारे जवाफ दिन तयार रहेको पनि स्पष्ट पारेका छन् ।



