नेपाल न्युज प्वाइन्ट डटकम
प्रचण्डले विप्लवलाई भने- ‘यताउता नभौंतारिनुस्, एकतामा आउनुस्’

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताए ।

जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ । जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठुलो भुमरीमा परेको जस्तो आफूलाई लागेको उनले बताए । संयोजक दाहालले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको बताए ।

उनले वास्तविक घर यही भएकाले यताउता भौंतारिएर केही नहुने उल्लेख गर्दै आत्मसमीक्षा गरेर एकता प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको बताए । 

उनले कम्युनिष्ट शक्तिहरू एक भएर अगाडि नबढे देश दुर्घटनामा जानसक्ने पनि बताए । निर्वाचन नजिकिँदै गरेकाले एकता प्रक्रियामा आउन उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरूलाई आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update