नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस चुनावी अभियानमा सक्रिय, पुरानै दलसँग प्रतिस्पर्धा हुने कांग्रेसको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै दलबीच नै मुख्य प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने निर्वाचनमा पुरानै राजनीतिक शक्तिहरूबीच नै प्रतिस्पर्धा केन्द्रित हुने बताएका हुन्।

“यो गम्भीर विषय पनि हो र अन्ततः मतदाताले नै निर्णय गर्ने कुरा हो,” चालिसेले भने, “तर अहिलेको अवस्थाले पुरानै दलबीच प्रतिस्पर्धा हुने संकेत गर्छ।”

हालै सम्पन्न विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्र बनाइएको उनले जानकारी दिए। कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै उनले पार्टीका नीति, योजना र कार्यक्रमलाई प्राथमिकता दिँदै मतदातामाझ विश्वास स्थापित गर्ने प्रयास गरिने बताए।

उनका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ। बागी उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको र अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको उनले जानकारी दिए।

“जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,” चालिसेले भने।

कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडा तहसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै पार्टीभित्र आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता जारी गरिएको उनले बताए।

“पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ,” उनले भने, “राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता–कार्यकर्तालाई निर्देशन दिइसकिएको छ।”

यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति पनि कांग्रेसले लिएको छ। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने लक्ष्यसहित प्रचार अभियान अघि बढाइने प्रवक्ता चालिसेले बताए।

उनका अनुसार संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर कांग्रेस निर्वाचनमा जाने तयारीमा छ। विशेष महाधिवेशनपछि पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा थपिएको दाबी गर्दै उनले महाधिवेशनमा सहभागी नहुने नेताकार्यकर्ता पनि पार्टी गतिविधिमा सक्रिय हुन थालेको र अन्य दलका नेता–कार्यकर्ताको कांग्रेस प्रवेश क्रम जारी रहेको बताए।

कांग्रेसले पार्टी घोषणापत्र लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी पनि दिएको छ। केही समयभित्र घोषणापत्र सार्वजनिक गरिने र त्यसमा सुशासन, विकास तथा भविष्यप्रति यथार्थवादी र विश्वसनीय कार्यक्रम समेटिने चालिसेले बताए।

उनका अनुसार फागुन ७ गते जनकपुरमा पार्टीको विशेष चुनावी सभा आयोजना गरिनेछ। साथै, देशभर १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार कायम रहेको पनि उनले पुनः स्पष्ट पारे।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update