काठमाडौं : निर्वाचनको सरगर्मी बढेसँगै भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूबीच सार्वजनिक बहस गरिनुपर्ने बहस चर्किंदै गएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक ‘पब्लिक डिबेट’का लागि आफू तयार रहेको बताएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले सो प्रस्ताव अस्वीकार गर्दै कडा प्रतिक्रिया जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले देशको नेतृत्व गर्न चाहने दल र उम्मेदवारहरूबीच पारदर्शी बहस आवश्यक भएको उल्लेख गर्दै आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए । उनले लेखेका थिए, “देश बनाउने र देश जलाउने पक्षबीच प्रतिस्पर्धा भइरहेको छ । देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमनेसामने बहस हुनु अत्यन्त सकारात्मक कुरा हो । यस्तो बहसमा उभिएर आफ्ना एजेन्डा प्रस्तुत गर्न म तयार छु ।”
ओलीले सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित गर्ने प्रवृत्ति बढेकाले सार्वजनिक बहसको माग उठेको हुन सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन् ।
तर ओलीको आह्वानप्रति प्रतिक्रिया जनाउँदै बालेन शाहले बहसमा सहभागी नहुने स्पष्ट पारेका छन् । ओलीको स्टाटसमा कमेन्ट गर्दै उनले कडा शब्द प्रयोग गरेका छन् । “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ । २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ?” बालेनले लेखेका छन् ।
उनले थप लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ । त्योपछि अरू कुरा गरौंला ।”
एमाले सचिवालय बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने नेपाली कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन् ।



