नेपाल न्युज प्वाइन्ट डटकम
गगन थापाको प्रतिबद्धता- सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेकाले मधेश र सर्लाहीका मुद्दा अब संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताए । उनले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाए ।

आगामी पाँच वर्षमा मधेशका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैं सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताए ।

उनले पार्टीका नेता कार्यकर्तालाई निर्वाचनमा खटिएर लाग्न आग्रह गरे । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आकलन नगर्न उनले सचेत गराए । चुनाव जित्न सबैको मिहिनेत आवश्यक हुने भन्दै उनले मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न निर्देशन समेत दिए । 

उनले आफू गर्नसक्ने कामको मात्रै वाचा गर्ने बताए । गर्न नसकिने कामलाई आफूले सुरुमा नै गर्न नसक्ने बताउने स्पष्ट पारे । उनले चुनावपछि पनि मतदाताहरुले आफूलाई सजिलै भेट्न सक्ने बताए । 

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update