नेपाल न्युज प्वाइन्ट डटकम
आयोगको निर्णयविरुद्ध देउवा पक्षीय नेताहरू आइतबार सर्वोच्च जाने

काठमाडौं : नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने भएका छन् । 

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरू सर्वोच्च जाने भएको हो ।

शनिबार देउवा पक्षका नेताहरूको पार्टी केन्द्रीय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

उनले आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताए । उनले आयोगले आफूहरूको कुरा समेत नसुनी एकपक्षीय ढंगले निर्णय गरेको आरोप लगाए । विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरी दूषित मनसायले आयोगले निर्णय गरेको उनको दाबी छ । कांग्रेसलाई क्षति पुर्‍याउनेगरी आयोगले निर्णय आफूहरूलाई अमान्य भएको उनले बताए ।

उनले कांग्रेसको विधान र निर्वाचनसम्बन्धी कानुनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दूषित मनसायबाट निर्णय गरेको उल्लेख गरे । यसको विरुद्ध अदालत जाने र अदातलले आफूहरूलाई न्याय गर्ने उनले विश्वास व्यक्त गरे ।

उनले नेपाली कांग्रेसको वैधानिकता १४औं महाधिवेशनबाट निर्वाचिन सभापति शेरबहादुर देउवा र आफूहरूसँगै रहेको पनि दाबी गरे । आयोगको निर्णयलाई अदालतले सच्याउने उनको दाबी छ ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update