काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन कुनै विवादको विषय नरहेको स्पष्ट पार्दै विधि, विधान र प्रक्रियाको पूर्ण पालना भएको बताएका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गर्दै उनले यसलाई पार्टीभित्र सार्थक परिवर्तनको साझा उपलब्धि भनेका छन् ।
जारी विज्ञप्तिमा सभापति थापाले नेपाली कांग्रेस अब नेता केन्द्रित होइन, आम सदस्यको चाहनाले चल्ने पार्टीका रूपमा स्थापित भएको दाबी गरेका छन् । उनका अनुसार विशेष महाधिवेशनले पार्टीलाई आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्काएको छ ।
विशेष महाधिवेशनमा सहभागी वा असहभागी, सहमत वा असहमत सबै नेता–कार्यकर्ता र सुभेच्छुकलाई संयमित, जिम्मेवार र एकताबद्ध रहन आग्रह गर्दै उनले यसलाई जय–पराजयको विषयका रूपमा नलिन अनुरोध गरेका छन् । “कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
आसन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीसहित एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत विभिन्न तहका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उनले अब पार्टीभित्र गुटगत राजनीति र भागबण्डा नहुने दाबीसमेत गरिएको छ । “जिम्मेवारी फरक हुन सक्छ, तर भुइँतहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुन्छ,” सभापति थापाले भनेका छन् ।
नेपाली कांग्रेस आम जनताको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै उनले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीको आत्मआलोचना र समीक्षा गरिएको बताए । समयअनुसार उपलब्धिलाई थप संस्थागत गर्दै पार्टी बदलिएको र अझ बदलिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
सभापति थापाले मूल्य र सिद्धान्तविपरीतका अप्राकृतिक गठबन्धनको अभ्यास अन्त्य गरिने स्पष्ट पार्दै संविधानको रक्षा र समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।


