नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस विभाजित छैन, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको हो : विश्वप्रकाश शर्मा

काठमाडौं : गगन थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस विभाजन नभएको बताएका छन् । आधिकारिकता सम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेका शर्माले कांग्रेस एकीकृत रहेको बताए ।

उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे । विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ । उनले कांग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धी कुनैपनि कानुन आकर्षित नहुने उल्लेख गरे ।

विशेष महाधिवेशन प्रतिनिधिहरूले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाइ छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाए ।

उनले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनीतिक चरित्र भएको बताए । आयोगले निष्पक्ष रूपमा निर्णय गर्ने उनको विश्वास छ । उनले विधानअनुरुप नै महामन्त्रीको हैसियतले आफूहरुको विशेष महाधिवेशन गरेको बताए । 

उनले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गरे । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उनको भनाइ छ ।

नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशनको आह्वान आफूहरुले गरेको उनले बताए । विधान कार्यन्वयनका लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update