काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गरेको छ ।
देउवा नेतृत्वको कांग्रेसका नेता पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी गरेका हुन् । उनले पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारे ।
उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भएपनि ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उल्लेख गरे ।
उनले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भएपनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गरे । उनले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि प्रक्रिया अगाडि बढाइएको भएपनि तत्कालीन महामन्त्रीद्वयले अत्यसअनुरुप जिम्मेवारी पूरा गर्न नसकेको बताए ।
उनले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी वैशाखमा गर्ने निर्णय गरिएको बताए । उनले गत पुस १५ गते बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर समेत गरे ।


