नेपाल न्युज प्वाइन्ट डटकम
पार्टी फुटेपछि शेखरले भने– हामी चुक्यौं, सबै घर फर्कौं, कांग्रेसमा फर्कौं

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई मतभेद त्यागेर कांग्रेसमै फर्किन र एकजुट भएर आगामी निर्वाचनमा लाग्न आह्वान गरेका छन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै डा. कोइरालाले पार्टीभित्र एकता कायम गर्ने प्रयास अपेक्षाअनुसार सफल हुन नसकेको स्वीकार गरेका छन् । उनले अबको प्राथमिकता कांग्रेसलाई संगठित रूपमा चुनावी मैदानमा उतार्नु रहेको उल्लेख गरेका छन् । पार्टीभित्र सुधारका प्रक्रिया निरन्तर चलिरहने स्पष्ट पार्दै उनले अहिले सबैलाई साझा घर कांग्रेसमै फर्किन आग्रह गरेका हुन् ।

वक्तव्यमा उनले कांग्रेस एकताका लागि गरिएको प्रयास सफल नहुनुमा कसैलाई दोषारोपण नगर्ने बताएका छन् । पछिल्ला घटनाक्रमहरूको मूल्यांकन इतिहासले गर्ने भन्दै उनले राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउने कुनै बहस आवश्यक नरहेको उल्लेख गरेका छन् ।

डा. कोइरालाले कांग्रेस विभिन्न आन्तरिक र बाह्य अन्तरविरोधबाट गुज्रिनुपरेको र पार्टीलाई कमजोर पार्ने स्वार्थहरूलाई रोक्न नसकिएको स्वीकार गरेका छन् । यद्यपि, उनले यस्तो कठिन परिस्थितिमा कांग्रेसका संस्थापक नेता विपी कोइरालाको संघर्ष, त्याग र नियतिप्रतिको विश्वास स्मरण गर्नुपर्ने बताएका छन् ।

उनले विपी कोइरालाको उदाहरण दिँदै लोकतन्त्रका लागि पार्टीका लाखौँ कार्यकर्ता अन्तिमसम्म अडिग रहे पनि केही व्यक्ति तथा समूह छुट्टिएको इतिहास स्मरण गरेका छन् । वर्तमान अवस्थामा कांग्रेस एकढिक्का भएर अघि बढ्न नसक्नु पनि त्यही नियतिको कठोर यथार्थ भएको उनको भनाइ छ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै डा. कोइरालाले आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउने दायित्व सबैका काँधमा रहेको बताएका छन् । संगठनात्मक ऊर्जा पुनः जागृत भएमा मात्रै पार्टीले इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्ने उनको विश्वास छ ।

उनले कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको उल्लेख गर्दै साझा इतिहास, साझा नेता र शहीदहरूबाट प्रेरणा लिएर देश र जनताको भविष्य निर्माण गर्नुपर्ने बताएका छन् । विगतमा पार्टी विभाजन हुँदा पनि नेपाली जनताले कांग्रेसमाथिको भरोसा नतोडेको स्मरण गराउँदै उनले फेरि एकपटक जनताको घरदैलोमा पुगेर समृद्धिको यात्राका लागि मत माग्नुपर्ने अवस्था आएको बताएका छन् ।

समय कम भए पनि यथासम्भव कार्यकर्ताको घरआँगनमा पुगेर चुनावी अभियानमा सहभागी हुने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै डा. कोइरालाले अन्त्यमा भनेका छन्, “पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया रोकिने छैनन् । म आह्वान गर्छु– हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जित–हार कसैको छैन, सबैको अवस्था विन–विन हो ।”

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update