काठमाडौं : नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मनसुरलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेपछि पार्टीभित्रको विवाद झनै चर्किएको छ ।
कारबाहीलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले आफूहरू सहज बहुमतमा रहेको दाबी गर्दै विशेष महाधिवेशन नै आधिकारिक भएको जिकिर गरेका छन् ।
थापाले आफूले पटक-पटक केन्द्रीय कार्यसमितिमा संगठन सुधार र नेतृत्वमा परिवर्तनको आवश्यकता औंल्याए पनि त्यसलाई सुनुवाइ नगरिएको गुनासो गरे । कारबाहीप्रति कडा असन्तुष्टि जनाउँदै उनले कांग्रेस कुनै निजी कम्पनी नभएको टिप्पणी गरे । ‘समाचार सुनें- केन्द्रीय कार्यसमितिको बैठकले दुई जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो रे । के कांग्रेस प्राइभेट कम्पनी हो ?’ उनले प्रश्न गरे ।
संस्थापन पक्षको निर्णयप्रति आक्रोश पोख्दै थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको र विशेष महाधिवेशन सञ्चालन भइरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकिएको बताए । बन्दसत्रमा सम्बोधन गर्दै उनले आयोगमा देउवा पक्षबाट पठाइएका पत्र र प्रतिनिधिको कुनै औचित्य नरहेको दाबी गरे ।
महामन्त्री थापाले आफूहरूले सभापति देउवालाई लक्षित गर्दै ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवा होइन’ भन्ने राजनीतिक सन्देश लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव मात्रै राखेको स्पष्ट पारे । पार्टीभित्र परिवर्तनको सन्देश दिनका लागि उक्त कुरा अघि सारिएको उनको भनाइ थियो । ‘कम्तीमा यो चुनावमा अबको प्रधानमन्त्री देउवा होइन भनेर जाऔं भनेको हो, त्यति पनि भन्न नपाइने हो र ?’ उनले भने ।
कारबाहीपछि पनि पार्टी एकताका लागि प्रयास गरेको उल्लेख गर्दै थापाले आफूले नेतृत्वलाई बदलिँदो राजनीतिक परिस्थितिबारे बुझाउन नसकेको स्वीकार गरे । उनले सोही दिन बिहान सभापति देउवासँग भेटेर विशेष महाधिवेशनबारे छलफल गर्न खोजे पनि कुरा नमिलेको बताए ।
‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरिएको हो,’ थापाले भने, ‘म यहाँ पाहुना भएर आएको होइन । महामन्त्रीको हैसियतले गर्नुपर्ने पहल गर्नु स्वाभाविक हो । बाहिर जे सहमति भए पनि अन्ततः निर्णय हलमै आउनुपर्छ ।’
थापाले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको छ भन्ने सन्देश दिनुपर्ने सुझाव सभापति देउवालाई दिएको भए पनि त्यसतर्फ नेतृत्वले चासो नदेखाएको बताए । उनका अनुसार पार्टीलाई नयाँ दिशामा लैजान खोज्दा आफूहरू कारबाहीको सिकार बनेका हुन् ।


