काठमाडौं : नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधान गर्न गठित त्रिपक्षीय संयन्त्रको पहिलो चरणको बैठक सकिएको छ । बिहानदेखि चलेको संवादले विषयहरूको प्रारम्भिक आदान–प्रदान मात्र गरेको र विस्तृत छलफलका लागि दिउँसो पुनः बस्ने निर्णय गरिएको छ ।
पार्टीभित्र विशेष महाधिवेशन आह्वान गर्ने पक्ष र त्यसलाई अस्वीकार गर्ने धारबीच गहिरिँदै गएको मतभेद मिलाउन तीन धारका नेताहरू संवादमा बसेका हुन् । बैठकमा सहभागी विशेष महाधिवेशन पक्षका नेता गुरुराज घिमिरेका अनुसार अहिलेका लागि विषय प्रवेश मात्र भएको छ ।
‘हामीले किन विशेष महाधिवेशन अपरिहार्य भयो भन्ने कुरा राख्यौं, अरू पक्षले पनि सुन्नुभयो,’ घिमिरेले भने, ‘एजेन्डागत छलफलका लागि दिउँसो साढे २ बजे पुनः बैठक बस्ने सहमति भएको छ ।’
बिहानको वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी थिए । सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण उपस्थित थिए भने शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल बैठकमा सहभागी थिए ।
पहिलो चरणको वार्ता सकिएसँगै नेताहरू आ–आफ्ना समूहसँग परामर्श गर्न फर्किएका छन् । छलफलका विषयवस्तु आफ्नो पक्षमा ब्रिफिङ गरेर साझा धारणा तय गरेपछि पुनः वार्तामा बस्ने तयारी गरिएको छ ।


