काठमाडौं : काठमाडौं नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीको वर्तमान नेतृत्व संरचनामा ठुलो परिवर्तन गर्ने औपचारिक बाटो खोलेको छ । महाधिवेशनको बन्दसत्रबाट पारित ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ अनुसार सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएकाले त्यसलाई विघटन गरी १५औं महाधिवेशन सम्पन्न नहुन्जेलका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरिने भएको छ ।
विशेष महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको वैधानिक अवधि समाप्त भइसकेको स्पष्ट उल्लेख गरिएको छ । यही आधारमा हाल कायम रहेको कार्यसमितिलाई औपचारिक रूपमा भंग गर्दै अन्तरिम अवधिका लागि नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरिएको हो ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो । सो महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि पार्टी केन्द्रीय समितिले मंसिर १५ गते एक निर्णय गर्दै कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको थियो । तर विशेष महाधिवेशनले पारित गरेको नयाँ कार्यविधिले त्यो अवधि पनि सकिएको ठहर गर्दै अब नयाँ संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ ।
कार्यविधिअनुसार विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिनेछ । यही समितिले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयनको सम्पूर्ण प्रक्रिया सञ्चालन गर्नेछ ।
त्यस्तै विशेष महाधिवेशनबाट भएका निर्णयहरूलाई औपचारिक मान्यता दिन संयोजकसहित पाँच सदस्यीय ‘निर्णय प्रमाणीकरण समिति’ पनि गठन गरिने व्यवस्था गरिएको छ ।
यससँगै चौधौँ महाधिवेशनपछि गठन भएका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति स्वतः विघटन हुने उल्लेख कार्यविधिमा गरिएको छ । नयाँ संरचनाअनुसार ती निकायहरू पनि पुनर्गठन गरिने संकेत गरिएको छ ।
कार्यविधिमा कांग्रेसको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले यसअघि गरेका निर्णयहरूलाई पुनरावलोकन गर्ने व्यवस्था पनि गरिएको छ । आवश्यक परे ती निर्णयहरूमा सुधार गर्न वा निष्क्रिय तथा खारेज गर्न सकिने उल्लेख गरिएको छ । यसलाई पार्टीभित्र विगतका विवादास्पद वा असहमतिको विषय बनेका निर्णयहरू सच्याउने अवसरका रूपमा हेरिएको छ ।
विशेष महाधिवेशनले पुस २७ र २८ गते बोलाइएको केन्द्रीय विशेष महाधिवेशन वैधानिक रहेको प्रस्ताव पनि पारित गरेको छ । यसले महाधिवेशनकै वैधता र त्यसबाट हुने सबै निर्णयलाई संस्थागत आधार प्रदान गरेको छ ।
कार्यविधि पारित भएसँगै नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु भएको छ । देउवा नेतृत्वको कार्यसमिति भंग भई नयाँ संरचना बन्ने निर्णयले पार्टीभित्र शक्ति सन्तुलन, गुटगत राजनीति र आगामी नेतृत्वको दिशालाई निर्णायक मोडमा पुर्याएको विश्लेषकहरूको भनाइ छ ।


