काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता सहमतिले औपचारिकता पाएको छ । दुई दलबीच एकता गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
सहमति अनुसार एकीकरण हुने दलको नाम जनता समाजवादी पार्टी नेपाल नै कायम रहनेछ । पार्टीको चुनाव चिन्ह छाता रहने तथा झण्डा माथि रातो, बीचमा सेतो र तल्लो भागमा हरियो रङको रहनेछ । झण्डाको बीच भागमा ढल्किएको छाता रहने व्यवस्था गरिएको छ । केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षले प्रमाणित गर्नेछन् । समितिमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहनेछन् भने विभिन्न क्षेत्र, समुदाय र समूहबाट ४३ सदस्य समेटिएका छन् ।
एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिनेछ । सो समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय बनाउनेछ । केन्द्रीय समिति समायोजन नहुञ्जेल पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक भूमिकासमेत यही समन्वय समितिले निर्वाह गर्ने सहमतिमा उल्लेख छ ।
दुवै पार्टी मातहतका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग र संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार काम गर्नेछन् । संगठनात्मक समायोजन नहुन्जेलसम्म आ–आफ्नो स्थान र कार्यक्षेत्रमा पार्टी मातहत रही क्रियाशील रहने व्यवस्था गरिएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्रमा समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति भएको छ । एकीकरणका थप प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अगाडि बढाइने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ ।


