काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य तथा बाध्यकारी भइसकेको बताएका हुन् ।
महामन्त्रीद्वयले महाधिवेशन प्रतिनिधिहरूले उठाएको विशेष महाधिवेशनको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै हस्ताक्षरकर्ता प्रतिनिधिहरूको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको स्पष्ट पारेका छन् । विधानअनुसार बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु र जिम्मेवारीअनुसार काम नगर्नु पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी कानूनविपरीत हुने उनीहरूको भनाइ छ ।
वक्तव्यमा भनिएको छ, “विधान र कानुन बमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य हो । लोकतान्त्रिक पार्टीका जिम्मेवार पदाधिकारीको रूपमा यो हाम्रो वैधानिक तथा नैतिक दायित्व हो । हामी त्यो जिम्मेवारी पूरा गर्छौं र गर्नेछौं ।”
नेपाली कांग्रेसको विधानको धारा ३(१२), धारा २७(१) तथा धारा १७(२) लाई आत्मसात् गर्दै मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
विशेष महाधिवेशनलाई “बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” भन्दै महामन्त्रीद्वयले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू कटिबद्ध र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
उनीहरूको भनाइमा विशेष महाधिवेशन अब कानुनी र राजनीतिक रूपमा अपरिहार्य भइसकेको छ । यद्यपि, संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको जनाइएको छ ।


