काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा दलिततर्फका उम्मेदवार डा.राजमी रामले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् ।
फेसबुकमार्फत उनले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन् । उनले बाहिरैबाट सामाजिक न्यायको पक्षमा बोल्ने पनि उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु । म संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ । सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो ।’
उनले आफू फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।


