नेपाल न्युज प्वाइन्ट डटकम
विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान, व्यवस्थापनका लागि १८ उपसमिति

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने आह्वान गरिएको छ । पार्टीभित्र देखिएको पछिल्लो विवादका बीच विशेष महाधिवेशन पक्षधर नेताहरूले विधानको बाध्यकारी व्यवस्थाअनुसार महाधिवेशन बोलाइएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन सूचना तथा प्रचार–प्रसार समितिका संयोजक सुवास पोखरेलले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले विशेष महाधिवेशन गर्नुपर्ने अवस्था विधानले नै सिर्जना गरेको दाबी गरे । उनका अनुसार पार्टीले २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन अपरिहार्य बनेको हो ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टीको पुनर्निर्माणका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार बाध्यकारी परिस्थितिमा विशेष महाधिवेशन आह्वान गरिएको हो ।

पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम केन्द्रीय महाधिवेशनका ४० प्रतिशतभन्दा बढी सदस्यहरूले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था रहेको उनीहरूको दाबी छ । यही प्रावधानअनुसार २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेको र यो संख्या कुल प्रतिनिधिको ५४.५८ प्रतिशत हुने उनीहरूले बताएका छन् । ती प्रतिनिधिहरूले गत असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए भने पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराइएको थियो ।

विशेष महाधिवेशन पक्षधरले विधानसम्मत रूपमा माग गरिएको महाधिवेशनलाई ‘असान्दर्भिक’ वा ‘औचित्यहीन’ भन्ने अधिकार कसैलाई नभएको चेतावनी दिएका छन् । उनीहरूका अनुसार विधानको बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन र यो रहर वा छनोटको विषय नभई साझा कर्तव्य र जिम्मेवारी हो ।

उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक तोकेका छन् । पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् ।

samiti-1767778150.jpg
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update