नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच भएको चुनावी तालमेलअनुसार कांग्रेसले ९ सिटमा उम्मेदवारी दिने भएको हो ।

कांग्रेस नेता रमेश लेखकका अनुसार गठबन्धन सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिटमा उम्मेदवारी दिने समझदारी भएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रदेशगत रूपमा उम्मेदवार चयन गरेको हो । निर्णयअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा उम्मेदवार बन्ने भएका छन् ।

मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्णलाई उम्मेदवार बनाइएको छ । बागमती प्रदेशमा गीता देवकोटा तथा गण्डकी प्रदेशमा जगत तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यसैगरी लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहनेछन् ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेको १८ सिटका लागि मनोनयन प्रक्रिया सुरु भएको हो । ती सिटका लागि माघ ११ गते निर्वाचन हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update