नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस कार्यालय अगाडि विशेष महाधिवेशन पक्षधरको प्रदर्शन, निधिसँग चर्काचर्की

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा अगाडि विशेष महाधिवेशनको माग गर्दै पक्षधर कार्यकर्ताहरूले मंगलबार प्रदर्शन गरेका छन्। पार्टीले तत्काल विशेष महाधिवेशन आयोजना गर्नुपर्ने मागसहित उनीहरू सानेपा पुगेका हुन्।

प्रदर्शनकारीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालय प्रवेश गर्न नदिएको आरोप लगाउँदै त्यसको विरोध जनाएका छन्। उनीहरूले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन आएका नेताहरूलाई गेटमै रोकेर विशेष महाधिवेशनमा जान आग्रहसमेत गरेका थिए।

प्रदर्शनका कारण केन्द्रीय कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सोही क्रममा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ।

पार्टी कार्यालय घेराउका लागि पुगेका विशेष महाधिवेशन पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोड हुँदै कार्यालय प्रवेश गर्न खोज्दा अवरोध पुर्‍याएका थिए। यसै क्रममा नेता निधि र कार्यकर्ताबीच भनाभन भएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा दुवै पक्षबीच चर्काचर्की परेको देखिन्छ। भिडियोमा नेता निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ। त्यसै क्रममा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूको समूहबाट ‘तपाईं चाहिँ हो ?’ भन्ने आवाज आएको पनि भिडियोमा देखिन्छ।

निधि पार्टी कार्यालयतर्फ प्रवेश गरेपछि होहल्लाका बीच ‘ओइ, आइजा’, ‘तेरो घर…’ जस्ता स्वरहरू सुनिएको भिडियोमा देखिन्छ।

यता, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले भने मंगलबार आफूहरूको कुनै औपचारिक कार्यक्रम नरहेको बताएका छन्। उनले विशेष महाधिवेशन पहल गर्ने पक्षको तर्फबाट सानेपा घेराउ गर्ने कार्यक्रम तय नगरिएको स्पष्ट पारे।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update