काठमाडौं : नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको पार्टी सचिवालय बैठकले ७ सदस्यीय मस्यौदा समिति बनाउने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको जानकारी दिए । समितिमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल सदस्य रहेका छन् । अध्यक्ष ओलीले यसपटकको चुनावी घोषणापत्र आफैंले लेख्ने तयारी गरेको पनि पार्टीले जनाएको छ ।
यस्तै, एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई समग्र निर्वाचनको कमाण्डर तोकेको छ । बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी दिएको हो ।
उपमहासचिव भट्टका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवको जिम्मेवारी विष्णुप्रसाद रिमाललाई दिइएको छ । कमिटीमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी सदस्य रहेका छन् ।


