काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् । उनले अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनुपर्ने भएका कारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी विशेष महाधिवेशन बोलाउँदा एकताको सन्देश पनि जाने उनले बताए ।
आज उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० जना केन्द्रीय सदस्यहरूको समूहसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसमा लागिपरेका समेत बताए ।
उनले फरक प्रशंगमा नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई-चार सिट बढी आएपनि समानुपातिक मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानी हुने उनले बताए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट भएको बताए ।
उक्त भेटमा ३० जान केन्द्रीय सदस्यहरूको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुसालले आफूहरू पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेट गरेको बताइन् । उनले आफूहरू कुनै पक्षको नभएको, तर पार्टीभित्रको विवादले चिन्तित बनाए समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन् । उनले मध्यमार्गी बाटो पहिल्याउन डा. कोइरालालाई आग्रह समेत गरिन् ।
अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको उनीहरूले बताए । उनीहरूले दुवै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा. कोइरालालाई सामूहिक आग्रह गरेका थिए ।
छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत सहभागी थिए ।


