नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपा र थारुवान अभियन्ताबीच एकता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वसहित थरुहट/थारुवान आन्दोलनका अभियन्ताबीच बृहत् राजनीतिक समायोजन सम्बन्धी सहमति भएको छ । भ्रष्टाचार, कुशासन र संरचनागत विभेदविरुद्ध साझा अठोटसहित नयाँ राजनीतिक शक्तिको निर्माणका लागि सहकार्य गर्ने प्रतिबद्धतासहित दुई पक्षबीच नौबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार बृहत् समायोजनपछि स्थापित हुने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने र चुनाव चिन्ह ‘घण्टी’ कायम गरिने सहमतिमा उल्लेख छ । केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ ।

सहमति पत्रमा गत भदौमा २३ र २४ गते जेनजीहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलन तथा जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनका शहीद र घाइतेहरूको बलिदानलाई प्रेरणाका रूपमा स्मरण गरिएको छ । आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ ।

राजनीतिक प्रस्तावनाअनुसार ऐतिहासिक रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय र क्षेत्रीय विभेद अन्त्यका लागि अवसरको न्यायिक वितरण, पहुँच र उपभोगमा जोड दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध रहने सहमति भएको छ ।

थारु समुदायको धार्मिक–सांस्कृतिक पहिचान संरक्षण र प्रवर्धनका लागि संविधानको धारा ५६ (५) को मर्मअनुसार थारु बहुल क्षेत्रलाई ‘थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानुनी तथा संवैधानिक प्रक्रिया अघि बढाउने सहमतिमा उल्लेख छ । साथै, टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै संघीय सरकार गठनपछि शान्ति सुरक्षा सम्बन्धी उच्चस्तरीय आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

निजामती, न्यायिक, प्रहरीलगायत सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातमा थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने र भूगोल, जनसंख्या, सामर्थ्य तथा सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विषयमा सर्वदलीय सहमति जुटाउने पहल गर्ने सहमतिमा उल्लेख छ ।

सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूलाई पार्टीको तहगत संरचनामा सम्मानजनक रूपमा समायोजन गरिनेछ । साथै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ वरिपरि गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी शक्तिलाई समेत आव्हान गरिएको छ ।

सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, दामोदर पण्डित तथा नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update