नेपाल न्युज प्वाइन्ट डटकम
मंगलबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका मंगलबार उम्मेदवार टुंगो लगाउने भएको छ । 

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलबार पुनः बैठक बोलाउने निर्णय गरेको हो । सो निर्वाचनमा अन्य दलहरुसँगको चुनावी तालमेललगायतका विषय र उम्मेदवारको विषय टुंगो लगाउन मंगलबार पुनः ११  बजे बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले आजको बैठकमा चुनावी तालमेलका लागि एमाले, नेकपालगायतका दलहरुसँग पार्टीको शीर्ष तहबाट छलफल भइराखेकाले भोलि बैठक बसेर त्यसबारेमा पनि निर्णय लिने निष्कर्षमा पुगिएको बताए ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेसको राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार छ । सोही मतभारको आधारमा अन्य दलहरुसँग पनि तालमेल गरेर राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update