काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको ५८औं केन्द्रीय समिति बैठकले एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थप गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाले पार्टी एकीकरण तथा विस्तारका क्रममा यसअघि भएका सहमति कार्यान्वयन गर्न विधान संशोधनमार्फत पदाधिकारी संख्या बढाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार उज्यालो नेपाल पार्टी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समूहलाई पद मिलान गर्न पदाधिकारी थप गर्न लागिएको हो ।
उज्यालो नेपाल पार्टीसँग एकता गर्दा कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति भएको थियो । हाल रास्वपामा डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति छन् । नयाँ निर्णयअनुसार घिसिङको वरीयता पहिलो रहने सहमति भएको बताइएको छ ।
रास्वपाको मौजुदा विधानमा उपसभापति दुई जना रहने व्यवस्था छ भने महिला उपसभापति अनिवार्य रहने प्रावधान पनि छ । तर हाल तीनै उपसभापति पुरुष भएकाले विधान संशोधन आवश्यक भएको पार्टीले जनाएको छ ।
त्यस्तै विधानमा महामन्त्री एक जना रहने व्यवस्था रहे पनि बैठकले थप एक महामन्त्री नियुक्त गर्ने निर्णय गरेको छ । हाल महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीले सम्हालिरहेका छन् । सहमहामन्त्रीतर्फ एक महिला सहित तीन जना रहने व्यवस्था छ । सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि हाल वीपीनकुमार आचार्य मात्रै सहमहामन्त्री छन् । बैठकले एक सहमहामन्त्री थप्ने निर्णय गरेको हो ।
सहप्रवक्तातर्फ पनि एक जना थपिने भएको छ । हाल प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ताको जिम्मेवारीमा छन् । नयाँ निर्णयपछि सहप्रवक्ता तीन जना पुग्नेछन् ।
महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पद काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समूहले पाउने सहमति भएको जनाइएको छ । यद्यपि ती पदका लागि नाम भने हालसम्म औपचारिक रूपमा पार्टीमा पेश भइसकेका छैनन् ।


