काठमाडौं : नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले अब विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी नरहेको बताएका छन् । उनीहरूले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वसँग औपचारिक माग गरेका छन् ।
शुक्रबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले निर्धारित समयमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन अपरिहार्य भइसकेको बताए ।
‘अब यो छनोटको विषय रहेन । नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प छैन,’ उनले भने ।
उनले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्ने जिम्मेवारी पार्टी केन्द्रले पूरा गर्ने विश्वास व्यक्त गरे । ‘यो माग कसैको जित–हारका रूपमा नभई पार्टीको एकता कायम राख्ने, आन्तरिक लोकतन्त्र जोगाउने र जनताप्रति जवाफदेही बन्ने अवसरका रूपमा लिन नेतृत्वसमक्ष विनम्र अनुरोध गर्छौं,’ पोखरेलले भने ।
उनका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । त्यसपछि नियमित महाधिवेशन गर्ने आश्वासन आएपछि अभियान केही समय रोकिएको थियो । तर घोषित कार्यतालिका अनुसार महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको माग पुनः सक्रिय बनाइएको उनले स्पष्ट पारे ।
‘हामीले पहिल्यै चेतावनी दिएका थियौँ—घोषित समयमा महाधिवेशन नगरी मिति सार्ने सुविधा हुनेछैन,’ पोखरेलले भने, ‘अब असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहन्छ र त्यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य हुन्छ ।’
पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले पनि नियमित महाधिवेशन असम्भव भइसकेको अवस्थामा विशेष महाधिवेशन अपरिहार्य भएको बताए । ‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन,’ उनले भने ।
विशेष महाधिवेशन पक्षधर नेताहरूका अनुसार पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हलसमेत बुक गरिसकिएको उनीहरूको दाबी छ ।
जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने निष्कर्षसहित विशेष महाधिवेशन आवश्यक भएको उनीहरूले बताएका छन् ।
पत्रकार सम्मेलनमा वाचन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘हामीलाई विश्वास छ—पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी पार्टी केन्द्रले पूरा गर्नेछ ।’


