काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा विचारविहीन र इतिहासविहीन समूहले देशै कब्जा गरिसक्यौं भन्ने भ्रामक हल्ला फैलाइरहेको टिप्पणी गरेका छन् ।
रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आएका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले दशकौंको त्याग, तपस्या र बलिदानलाई बदनाम गर्ने प्रयास भइरहेको बताए ।
प्रचण्डले लामो इतिहास भएका कम्युनिस्ट पार्टीहरू सकिए भन्ने हल्ला जनताले नपत्याएको दाबी गर्दै सूचना प्रविधि र एआईको प्रयोग प्रतिक्रियावादी शक्तिको नियन्त्रणमा रहेकोप्रति सचेत रहनुपर्ने उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलमुक्त भएसँगै राजनीतिक गतिविधि तीव्र गतिमा बढाएका छन् । उनले उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको समूहसँग एकताका लागि सहमति गरेका छन् । सहमतिपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै रवि, कुलमान र बालेनको चर्चा चुलिएको छ ।


