काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार मोरङ समाज काठमाडौंको २६औं वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताएका हुन् । सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।
उनले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै सरकारले त्यसका लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए ।
सेनाले निर्वाचन गराउँदैन भन्नेकुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको स्मरण गराउँदै गम्भीर अपराधका कैदीहरु फरार र हजारौं हातहतियार समेत समाजमा रहेको भन्दै उनले यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
नेता कोइरालाले २३ भदौमा भएको जेनजी आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरेपनि कम हुने बताए । यद्यपि २४ भदौमा भएको विध्वंशलाई सामान्य रुपमा हेर्न नहुने उनको भनाइ छ ।
उनले मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरु समेत तहसनहस पारिएको उल्लेख गर्दै जेनजीले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे ।
यो सब कांग्रेस–एमालेको सरकार हटाउनका लागि मात्र हो त ? उनको प्रश्न छ । उनले संसद पुनर्स्थापना गरेर समेत अहिले समस्याहरूको निकाश निस्कन नसक्ने जिकिर गरे ।


