काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने प्रक्रियामा राजनीतिक दलहरू अन्तिम चरणमा पुगेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ७ वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन् ।
आयोगमा सूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जनता समाजवादी पार्टी (जसपा) नेपाल र गतिशील लोकतान्त्रिक पार्टी रहेका छन् ।
सूची विवरणअनुसार नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले प्रत्येकले १ सय १० जनाको बन्दसूची पेश गरेका छन् । यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानान्तर रूपमा १२–१२ जनाको सूची आयोगमा बुझाएका छन् । नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जना र गतिशील लोकतान्त्रिक पार्टीले ११ जनाको उम्मेदवार सूची पेश गरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम म्याद सोमबार (आज) सम्म तोकिएको छ । आयोगले दिएको समयसीमा नजिकिँदै जाँदा बाँकी राजनीतिक दलहरू पनि सूची बुझाउने अन्तिम गृहकार्यमा जुटिरहेका छन् ।


