नेपाल न्युज प्वाइन्ट डटकम
आगामी निर्वाचन नलड्ने पम्फा भुसालको घोषणा

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा पूर्वमन्त्री पम्फा भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार नबन्ने स्पष्ट पारेकी हुन् ।

नेतृ भुसालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार यसपटक आफू निर्वाचन प्रतिस्पर्धाबाट बाहिर रहने निर्णयमा पुगेकी हुन् । फेसबुकमा उनले लेखेकी छन्, “यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु ।”

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दुईपटक प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेकी भुसाल मन्त्रीसमेत भइसकेकी छन् । उनले आफूले प्राप्त गरेको राजनीतिक अनुभव र सिकाइ अब पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन् । “म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु। अब त्यो अनुभव पार्टीभित्र उपयोग गर्नु जरुरी छ भन्ने मेरो ठम्याइ हो,” उनले लेखेकी छन् ।

उनले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि बताएकी छन् । निर्वाचन नलडे पनि आफू संगठन निर्माण, प्रचार–प्रसार र रणनीतिमा सक्रिय रहने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update