काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गर्दै समानुपातिक तर्फका उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने प्रक्रिया सुरु गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ ११० जना उम्मेदवार चयनका लागि मापदण्ड तयार पार्ने निर्णय गरेको हो ।
बैठकले विगतका निर्वाचनमा पार्टीका आधिकारिक वा समर्थित उम्मेदवारका विरुद्ध उम्मेदवारी दिएका, प्रस्तावक–समर्थक बनेका वा असहयोग गरेका कारण अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय पनि गरेको छ। केन्द्रीय अनुशासन समितिबाट निष्कासन, निलम्बन वा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी तथा मिनाहा गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
यसरी कारबाही माफी पाएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता दिई नवीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलबाट उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्कन कांग्रेसले आह्वान गरेको छ । पार्टीमा फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले विभिन्न पेसा, व्यवसाय तथा बौद्धिक क्षेत्रमा क्रियाशील लोकतान्त्रिक विचारधारा भएका व्यक्तिहरूसँग विशेष संवाद र सहकार्य अघि बढाउँदै पार्टी, लोकतन्त्र र मुलुकको हितका लागि सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्ने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पुस १३ गते आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।


