काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच ललितपुरको कुपण्डोलमा निर्णायक वार्ता जारी छ ।
मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको निवासमा केहीबेरदेखि दुई नेताबीच एक्लाएक्लै छलफल भइरहेको हो । भेटका लागि लामिछानेसँगै रास्वपाका पूर्व सांसद असिम शाह पनि कुपण्डोल पुगेका छन् ।
यसैबीच, जेनजी अभियानका अगुवा तथा हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङले सहमति नभएसम्म गेट नखोल्ने भन्दै घरको गेटमा ताला लगाइएको बताएका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै गुरुङले रवि र बालेन भित्रै रहँदा बाहिरबाट गेट बन्द गरिएको जानकारी दिएका हुन् ।
‘हाम्रा दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन । चाबी हामीसँग छ,’ गुरुङले भिडियो सन्देशमा भनेका छन् । उनले आफूहरू गेटमै बसेर सुरक्षागार्डको भूमिकामा रहेको पनि बताएका छन् ।
रवि र बालेनबीचको यो वार्तालाई निर्णायक मानिएको छ । यसअघि पनि दुवैबीच भेटवार्ता भए तापनि राजनीतिक सहकार्य कसरी अघि बढाउने भन्ने विषयमा ठोस सहमति हुन सकेको थिएन ।
केही दिनअघि काठमाडौंको कमलपोखरीमा करिब ६ घण्टा लामो छलफल भएको थियो । तर सो भेटमा लामिछानेतर्फबाट स्पष्ट प्रस्ताव नआएको भन्दै बालेनले अन्य राजनीतिक विकल्पबारे पनि छलफल अघि बढाएका थिए । बालेनले ‘लौरो’ चुनाव चिह्न रहेको देश विकास पार्टीमार्फत राजनीति अघि बढाउने गृहकार्यसमेत गरिरहेका छन् ।


