काठमाडौं : नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट हुने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हितबहादुर तामाङलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
बुधबार बसेको नेकपा नुवाकोट–१ को उम्मेदवार छनोट सिफारिस बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पूर्वमन्त्री तामाङलाई सर्वसम्मत रूपमा अघि सार्ने निर्णय गरेको पार्टीले जनाएको छ।
तामाङ यसअघि सोही निर्वाचन क्षेत्रबाट लगातार दुई पटक निर्वाचित भइसकेका नेता हुन्। २०७९ सालको निर्वाचनमा उनले एमालेका बद्री मैनालीलाई पराजित गरेका थिए भने २०७४ सालमा कांग्रेसका उम्मेदवार रामशरण महतमाथि विजय हासिल गरेका थिए।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–३, घलेभन्ज्याङमा जन्मिएका तामाङ लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी दुई पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। यसक्रममा उनले युवा तथा खेलकुद मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी छोटो अवधिका लागि वहन गरेका थिए।


