काठमाडौं : जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले विरोध प्रदर्शन गरेको छ ।
सोमबार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले सरकारको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनलाई लक्षित गर्दै माइतीघर क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत पारिए पनि प्रदर्शनरत केही जेनजीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
ढुंगानाले सरकारले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दा खारेज गर्नुपर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्नुपर्ने र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आइतबार आन्दोलनको घोषणा गरेका थिए ।
जेनजी समूहले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । यसअघि पनि ढुंगाना नेतृत्वको समूहले सिंहदरबारअगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । सरकारले भने प्रदर्शनलाई शान्तिपूर्ण राख्न सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।


