काठमाडौं : राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को तेस्रो वार्षिक साधारण सभा विज्ञापन क्षेत्रसँग सम्बन्धित नीतिगत विषय, व्यवसायिक सुरक्षाका चुनौती तथा संघको भावी सांगठनिक दिशाबारे गहन छलफल गर्दै सम्पन्न भएको छ । संघका अध्यक्ष प्रदीप प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न सभामा विज्ञापन व्यवसायलाई थप सुदृढ र मर्यादित बनाउने विषयमा विशेष जोड दिइएको थियो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कोइरालाले संघ स्थापना भएयता देशले प्राकृतिक विपत्ति, राजनीतिक अस्थिरता र पछिल्ला सामाजिक आन्दोलनजस्ता विभिन्न प्रतिकूल अवस्थाहरू सामना गर्नुपरेको उल्लेख गरे । ती सबै परिस्थितिले विज्ञापन व्यवसायमा प्रत्यक्ष असर पारेको भए पनि व्यवसायीहरूले धैर्य र दृढताका साथ व्यवसायलाई जोगाइराख्नु प्रशंसनीय रहेको उनको भनाइ थियो । कठिन समयमै पनि निरन्तरता दिन सफल भएकोमा व्यवसायीहरूलाई उनले उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका संस्थापक एवं निवर्तमान अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले विज्ञापन व्यवसायमाथि राज्यका तर्फबाट विभिन्न नीति र नियममार्फत अनावश्यक नियन्त्रण गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । व्यवसायीको हकहितमा असर पार्ने कुनै पनि सरकारी कदमविरुद्ध संघ कानुनी रूपमा समेत संघर्ष गर्न तयार रहेको उनले स्पष्ट पारे ।
साधारण सभाले संघको विधान संशोधन गर्दै ‘नान’ लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको छ । महासचिव विमल खड्काका अनुसार अब प्रत्येक प्रदेशमा संघका कार्यालय स्थापना गरिनेछ । हाल १०५ सदस्य आबद्ध रहेको संघमा चालू आर्थिक वर्षभित्र सदस्य संख्या १५० पुर्याउने लक्ष्य तय गरिएको उनले जानकारी दिए ।

सभामा कोषाध्यक्ष अरुण अर्यालले संस्थाको आय–व्यय विवरण प्रस्तुत गरेका थिए भने प्रथम उपाध्यक्ष अमृत पन्थी र द्वितीय उपाध्यक्ष आशिष खड्काले विज्ञापन क्षेत्रलाई अझ व्यावसायिक, व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्नेमा जोड दिँदै आफ्ना धारणा राखेका थिए ।
औपचारिक कार्यक्रमपश्चात् आयोजित पिकनिक कार्यक्रममा सहभागी व्यवसायीहरूबीच आपसी परिचय, अनुभव आदान–प्रदान र आत्मीयता बढाउने अवसर सिर्जना भएको संघले जनाएको छ । विज्ञापन क्षेत्रलाई थप सशक्त बनाउने, कमजोरी सुधार गर्दै अघि बढ्ने तथा व्यवसायीको हक–हित संरक्षण, सीप विकास र संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको जनाइएको छ ।


