नेपाल न्युज प्वाइन्ट डटकम
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहितविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : भिजिट भिसाका नाममा विदेश जाने नेपाली नागरिकसँग अवैध असुली गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख रहेका भट्टराईलाई अख्तियारले मुख्य योजनाकार ठहर गर्दै अन्य कर्मचारी तथा बिचौलियासहित मुद्दा दायर गरेको हो । अख्तियारको निगरानीपछि २०८१ चैत ७ गते भट्टराईलाई पक्राउ गरिएसँगै भिजिट भिसा प्रकरण सतहमा आएको हो ।

अनुसन्धानका क्रममा भिजिट भिसामा खाडी मुलुकतर्फ जाने यात्रुसँग अध्यागमनका कर्मचारी र बिचौलियाले ५० हजार रुपैयाँसम्म र युरोपीय देश जानेहरूबाट तीन लाख रुपैयाँसम्म असुल्ने गरेको खुलासा भएको छ । करिब ८० लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले त्यही रकम बिगो कायम गरेको छ ।

यो प्रकरण सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री रमेश लेखकसहित गृह प्रशासनका उच्च अधिकारीहरूको भूमिकामाथि पनि प्रश्न उठेको थियो । विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा अवरुद्धसमेत गरेका थिए ।

अख्तियारले दायर गरेको मुद्दामा सहसचिव भट्टराईसँगै शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल व्यवसायी बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेललगायतलाई प्रतिवादी बनाइएको छ ।

२०७८ जेठ ७ गते विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएपछि अख्तियारले करिब सात महिनासम्म विस्तृत छानबिन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update