काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए ।
उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गरे । उनले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे ।
उनले भने, ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो ।’
उनले संसद् पुनर्स्थापनाको विकल्प नभएको पनि बताए । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद् पुनर्स्थापन नै अन्तिम विकल्प भएको उनको भनाइ थियो ।


