काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनाइएको जाँचबुझ आयोगले बोलाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा उपस्थित भएर बयान दिनुपर्ने टिप्पणी गरेका छन् ।
बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा पोखरेलले सरकार प्रमुख रहेका बेला भएका घटनामा आयोगसमक्ष जानकारी दिनु ओलीको दायित्व भएको बताए ।
उनले भने, “सरकारले बनाएको आयोगप्रति केही असहमति वा शंका हुनु स्वाभाविक हो । तर बोलाइएको ठाउँमा नजाने निर्णयले राम्रो सन्देश दिँदैन। म भए पहिले नै गईसक्थें ।”
पोखरेलले आयोगको विश्वसनीयता सम्बन्धी प्रश्नहरूबारे पनि बोले । आयोगको नेतृत्व गर्ने व्यक्तिले विगतमा एउटै पक्षको समर्थन गरेको प्रसंग उठाउँदै उनले त्यसले प्रश्न उठाए पनि बयान दिन नजाने कारण बन्न नहुने बताए ।
उनले थपे, “आयोग कसरी बनेको छ भन्ने बहस अलग कुरा हो । तर बोलाएको बेला आफ्ना तथ्य, धारणा र प्रमाण राख्न जाँदा कुनै हानि हुँदैन । मलाई त लाग्छ- अध्यक्ष ओली पनि छिट्टै उपस्थित हुन्छन् ।”
यसअघि अध्यक्ष ओलीले भने जाँचबुझ आयोगमा बयान दिन नजाने बताउँदै आएका थिए ।


