काठमाडौं : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदैछ ।
आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरु गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् ।
मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरुको बन्द सूची अन्तिम प्रकाशन हुनेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरेका थिए ।
समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गरेका छन् । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिने छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्यांक कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैंगिकलगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गरे ।
विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी मनोनयनको कार्यक्रम राखिएको छ ।
आइतबार नै नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री माननीय अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्व तयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका छन् ।


