काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेपालको इतिहासमा सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको बताएका छन् ।
काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उनले सो जिकिर गरेका हुन् । अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएका भन्ने कुरा ओलीसामु आत्मसमर्पण गर्नुबाहेक अरु केही नभएको समेत बताए ।
एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीकोसामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै उनले त्यसै कारण आफूहरूले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको बताए ।
अध्यक्ष नेपालले ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताहरूकै बलमा नेकपा एस निर्माण गर्नुपरेको समेत बताए ।


