नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षर बुझाइयो

काठमाडौं : नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन र नयाँ दिशा दिन विशेष महाधिवेशनको माग गर्दै ठुलो संख्यामा हस्ताक्षर संकलन गरेका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक उथलपुथलले पार्टीभित्र व्यापक असन्तुष्टि बढाएपछि यो कदम चालिएको हो ।

देशभरबाट जुटाइएका २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुधबार दिउँसो कांग्रेसका नेता गुरुराज घिमिरेले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालय सानेपामा बुझाए ।

घिमिरेका अनुसार यो संख्या १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो । हस्ताक्षरसहितको निवेदनमा अहिलेको जटिल अवस्थामा पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्ग दिन विशेष महाधिवेशन आवश्यक रहेको उल्लेख छ ।

नेता घिमिरेले यो कदमलाई पार्टीभित्रको आन्तरिक कलह वा विद्रोह नभई विगतका असल परम्पराको पुनरावलम्बन बताए । उनले स्वर्गीय सुवर्णशम्शेर राणा जस्ता नेताहरूले विशेष अवस्थामा अपनाएको अभ्यासलाई नै आधार बनाएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूको यो विशेष अधिकार भएको जिकिर गरे ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा नेतृत्वको आमूल परिवर्तन खोजेको भन्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशन माग्दै हस्तक्षर अभियान चलाएका थिए ।

पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनमा जानु पर्ने पक्षमा छन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update