नेपाल न्युज प्वाइन्ट डटकम
एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता, संसद् विघटनविरुद्ध अदालत जाने निर्णय

काठमाडौं : नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको ५८औं बैठकले यो निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनको मिति र स्थान यही असोज २९ देखि ३१ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउनेछ ।

यसअघि एमालेको १०औं महाधिवेशन २०७८ मंसिरमा चितवनको भरतपुर र सौराहामा सम्पन्न भएको थियो । मौजुदा केन्द्रीय कमिटीको कार्यकाल पाँच वर्षको भए पनि पार्टीले एक वर्षअघि नै महाधिवेशन गर्न लागेको हो । गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले नीति र विधान तय गरिसकेको छ । आगामी महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै तत्काल पुनःस्थापनाको माग गरेको छ । उपमहासचिव ज्ञवालीले भने, “यो विघटन असंवैधानिक छ। हामी अदालत खुल्नासाथ संसद् पुनःस्थापनाको मागसहित कानुनी बाटो अवलम्बन गर्नेछौं ।”

गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट हटेका थिए। त्यसपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् । एमालेले यो कदमलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापनाको पक्षमा उभिएको हो ।

“हालका गतिविधिहरू कुनै पनि हिसाबले चुनावमुखी छैनन् । असंवैधानिक विघटनलाई बदर गरी संसद् पुनःस्थापना हुनुपर्छ,” ज्ञवालीले भने ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update