
जनकपुरधाम : मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री पदका लागि अघि सारिएको छ ।
बुधबार बसेको संयुक्त बैठकपछि तीनै दलका शीर्ष नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।
एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।
नेकपा एमालेले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । साथै, सरकारमा रहेका आफ्ना चार मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा भने दिएका छैनन् ।