नेपाल न्युज प्वाइन्ट डटकम
देउवाको टाउकोमा १२ टाँका लगाइयो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणमा उनको टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सकले उनको टाउकोमा १२ वटा टाँका लगाएका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित उनकै निवासमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

शुक्रबार पार्टी बैठकको निर्णय सुनाउने क्रममा पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले धारिलो हतियारको प्रयोगबाट देउवाको टाउकोमा चोट लागेको बताए । “सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ। अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ,” विश्वकर्माले भने । उनकी पत्नी आरजु राणा देउवामाथि पनि आक्रमण भएको थियो, तर उनको अवस्था पनि क्रमिक रूपमा सामान्य बन्दै गएको छ ।

आन्दोलनकारीले देउवाको निवासमा आगजनी र तोडफोड गरेका थिए । आक्रमणका क्रममा देउवा दम्पतीमाथि हातपात भएको र उनीहरू रगताम्ये अवस्थामा भेटिएको विश्वकर्माले बताए ।

विश्वकर्माका अनुसार, देउवाको उपचार सैनिक अस्पतालमा भइरहेको छ । उनी अहिले सामान्य कुराकानी र हिँडडुल गर्न सक्ने अवस्थामा रहेको विश्वकर्माले जानकारी दिए ।

नेपाली कांग्रेसले यो घटनालाई लोकतन्त्रविरुद्धको कदम भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र हतियारको प्रकारबारे भने अझै अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update