
काठमाडौं : सामाजिक सञ्जालमा सुरु भएको युवापुस्ताको आक्रोश अब सडकमा उत्रिन लागेको छ । इन्डोनेसिया र फिलिपिन्स हुँदै नेपालसम्म फैलिएको ‘नेपो बेबी’ अभियानले सोमबार राजधानीका सडकमा आन्दोलनको तयारी गरेको छ ।
‘नेपो बेबी’ भन्नाले शक्तिशाली परिवारको हैसियतका कारण विशेषाधिकार पाउने र सुविधासम्पन्न जीवनशैली देखाउने सन्तानलाई जनाइन्छ । हालै इन्स्टाग्राम र टिकटकमार्फत नेपाली नेताका छोराछोरी तथा नजिकका व्यक्तिहरूको महँगो जीवनशैली सार्वजनिक हुन थालेपछि युवापुस्ताले यसलाई असमानताको प्रतीक ठहर गर्दै विरोधको तयारी गरेका हुन् ।
भ्रष्टाचारविरुद्ध उठेको यो अभियानको नेतृत्व औपचारिक रूपमा कसले गरेको भन्ने प्रष्ट छैन । तर सामाजिक सञ्जालमार्फत सक्रिय युवाहरूले आफूलाई ‘जेन-जी’ पुस्ता भन्दै सोमबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन् ।
उनीहरूले प्लेकार्ड, नारा र सांस्कृतिक प्रस्तुति मार्फत भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्ने तयारी गरेका छन् ।
युवाहरूले यो आन्दोलनलाई ‘इतिहास लेख्ने दिन’ भन्दै जनतालाई सडकमा उत्रिन आह्वान गरेका छन् । उनीहरूको भनाइमा सत्ताले करदाताको पैसाले आफ्ना सन्तानलाई विलासी जीवन दिने तर सामान्य जनता महँगी र बेरोजगारीमा धकेलिने अवस्था अब सहन सकिँदैन ।
यसअघि इन्डोनेसियामा राष्ट्रपति जोको विडोडोका छोरा गिब्रान उपराष्ट्रपति उम्मेदवार बनेपछि सुरु भएको ‘नेपो बेबी’ ट्रेन्ड छिमेकी फिलिपिन्स हुँदै नेपालसम्म आएको हो । त्यहाँ नेताका सन्तानको लक्जरी जीवनशैली र भ्रष्टाचारबीचको सम्बन्ध उजागर गर्दै आक्रोश फैलिएको थियो । नेपालमा पनि सोही शैलीमा नेताका परिवारका विलासी जीवनशैली सार्वजनिक भइरहेका छन् ।