
काठमाडौं : मानव अंग मिर्गौला बेचबिखनमा संलग्न सात जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी मानव अनुसन्धान बेचबिखन ब्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
भारतको नयाँ दिल्लीमा बसेर गैरकानुनी कार्यमा नाइकेको भूमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराधअन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली लगेर गैरकानुनी रुपमा मिर्गौला झिकी बिक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।
सो गिरोहलाई संगठित अपरोध ऐन अन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐन अन्तर्गत मानव बेचबिखन र गैरकानुनी रुपमा अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताए ।