नेपाल न्युज प्वाइन्ट डटकम
इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई जरिवाना वा कारबाही हुँदैन : यातायात व्यवस्था विभाग

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे कारबाही नहुने स्पष्ट पारेको छ ।

विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू हुने भएपनि तत्काल जडान नगरे जरिवाना वा कारबाही हुने भ्रममा नपर्न विभागले स्पष्ट पारेको हो ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्णयअनुसार असोजदेखि क्रमशः सबै सरकारी, निजी र सार्वजनिक सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ । तर हाललाई कुनै किसिमको दण्ड-जरिवाना नहुने र सेवाग्राहीले आफूलाई अनुकूल समयमा यातायात कार्यालयमा गई नम्बर प्लेट जडान गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारीसाधनको एकीकृत विवरण व्यवस्थापन गर्न, ट्राफिक तथा सडक सुरक्षामा प्रविधिमार्फत सहयोग पुग्ने, चोरी वा आपराधिक गतिविधि नियन्त्रण हुने र विपद् व्यवस्थापनमा समेत उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

विभागले इम्बोस्ड नम्बर प्लेटसम्बन्धी गुणस्तर र तथ्यांक विदेश जानेजस्ता भ्रामक समाचारलाई खण्डन गर्दै सम्पूर्ण विवरण नेपालभित्रै सुरक्षित रहने व्यवस्था मिलाइएको स्पष्ट पारेको छ ।

dotm-on-imbossed-211-1756207914.jpg
dotm-on-imbossed-2112-1756207934.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update