
काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जिल्लामै पहिलो भएको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरिएको अन्तिम नतिजाअनुसार चौरजहारीले ८४ अंक प्राप्त गर्दै कर्णाली प्रदेशमै तेस्रो स्थान हासिल गरेको हो । मन्त्रालयले जारी गरेको सूचिमा रुकुम पश्चिमकै आठबिसकोट नगरपालिका दोस्रो, त्रिवेणी गाउँपालिका तेस्रो, सानीभेरी गाउँपालिका चौथो र बाँफीकोट गाउँपालिका पाँचौं स्थानमा रहेका छन् । तर मुसिकोट नगरपालिकाको विवरण भने यसपटक सार्वजनिक भएको छैन ।
चौरजहारी नगरपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ दशमलव ५, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३ दशमलव ५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११ दशमलव ५, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ दशमलव ५ र सहकार्य तथा समन्वयमा ३ अंक पाएको छ ।
समग्रमा, १० शीर्षकमा गरिएको मूल्यांकनमा उच्च अंक ल्याउँदै चौरजहारीले जिल्लाभरकै स्थानीय तहलाई पछि पार्दै नेतृत्व गर्ने परिणाम निकाल्न सफल भएको हो ।